५ नं. प्रदेशमा अवस्थित जिल्लाहरु मध्ये बाँके जिल्ला एक हो । वि.सं. १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनीलाई सहयोग गरे वापत सुगौली सन्धिबाट गुमेको भू–भाग मध्ये पुरस्कार स्वरुप वि.सं.१९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला नेपाललाई फिर्ता आएकोले नयाँ मुलुकको नामबाट बाँके जिल्ला परिचित छ ।
यस जिल्लाको नाम बाँके रहनुको कारण विभिन्न जनश्रुती, धार्मिक एवं पौराणिक कथन रहेको छ । जस अनुसार परापुर्व कालमा तराई क्षेत्रमा औलो, कालाजार जस्ता रोगहरुको प्रकोपले यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरुको मृत्यु हुन गई थोरै मानिसहरु मात्र यस क्षेत्रमा बाँकी रहन गई बाँकी मानिसहरुले मात्र बसोबास गरेको ठाउँ भनिँदै जाँदा पछि अपभ्रंश हुन गई यस ठाउँलाई बाँके भन्न थालिएको हो । यसै गरी धार्मिक ग्रन्थ अनुसार सतीदेवीको जिब्रो पतन भई त्यस ठाउँमा वाक्यश्वरी देवी उत्पन्न भई स्थापित वाक्यश्वरी (हाल बागेश्वरी) मन्दिर रहेको स्थानलाई छोटकरीमा बाक्य भनिँदै जाँदा पछि बाँकेमा परिणत भएको भनाई पनि रहेको छ । जनश्रुति अनुसार परापूर्व कालमा यहाँका मानिसहरु घाम, पानी, हुरी, बतास आदीबाट सुरक्षित रहन वरीपरी घुमाएर बाँके खालको घरहरु निर्माण गर्थे रे । अधिकांश बाँके घरहरु रहेको बस्तीलाई बाँके बस्ती भनिँदै जाँदा यस जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति रहेको छ ।
यस जिल्लाको भू–भाग मध्ये केहि भाग चुरे क्षेत्रले ओगटेको छ । चुरे क्षेत्रमा साविकका चिसापानी, महादेवपुरी, कचनापुर, खासकुस्मा, बैजापुर, गंगापुर, कालाफाँटा, कटकुईया, कोहपलपुर, लक्ष्मणपुर नरैनापुर, नौवस्ता, फत्तेपुर, रझेना, मटैया, विनौना गा.वि.स.का केहि तथा सम्पुर्ण भाग पर्दछन् । विशेष गरी उष्ण हावापानी पाईने तराईको यो जिल्ला उर्वरा भुमीको कारण अन्नबालीको लागि प्रख्यात छ । यसको सदरमुकार नेपालगञ्जमा रहेको छ । नेपालगञ्ज भारतीय सिमासँग जोडिएको यस क्षेत्रको प्रवेशद्वारको रुपमा रहनुको साथै उत्तरका पहाडी तथा हिमाली क्षेत्र र तराई तथा भित्री मधेषका दाङ र बर्दिया जिल्लाको प्रमुख व्यापारिक केन्द्र पनि रहेको छ ।
भौगोलिक अवस्थिति
नेपालको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रकै प्रवेशद्वार बाँके जिल्ला भेरी अञ्चलको सदरमुकामको रुपमा परिचित छ । नेपालको १,४७,१८१ वर्ग कि.मी. क्षेत्रफल मध्ये २२५८ वर्ग कि.मी. भू–भाग ओगटेको बाँके जिल्ला २७०५१’ देखि २८०२०’ उत्तरी अक्षांस र ८१०२९’ देखि ८२०८’ पुर्वी देशान्तरमा अवस्थित छ । जिल्लाको सरदर उचाई समुद्र सतहबाट ७०८.७५ मिटर (१२७.५ देखि १२९० मिटर) भएपनि सदरमुकाम नेपालगञ्ज १४९ मी. उचाईमा छ । अग्लोमा चुरे पर्वत होचोमा समथर भुमी जस्तो विषम भू–धरातलीय चाक्लो आकारमा देखिने बाँके जिल्लाको उत्तरमा दाङ र सल्यान, दक्षिणमा भारत, पुर्वमा दाङ र भारतीय सिमाना तथा पश्चिममा बर्दिया जिल्लाको चौघेरा भित्र रहेको छ । राजनैतीक एवं संघीय संरचनाको हिसाबले ३ संघीय निर्वाचन क्षेत्र, ६ प्रदेश निर्वाचन क्षेत्र तथा ८ वटास्थानीय निकाय (गाउँपालिका–६, नगरपालिका–१, उपमहानगरपालिका–१) मा यो जिल्ला विभाजित छ ।
कुल क्षेत्रफल – २२५८ वर्ग कि.मी.
वर्षा – १०००–१५०० मि.लि. सम्म
तापक्रम – ५.४० देखि ४६० सम्म
भू–बनोटको आधारमा बाँके जिल्लालाई तीन भागमा विभाजन गर्न सकिन्छ,
क) तराईको समतल भुमी
ख) उत्तरको भावर क्षेत्र
ग) चुरे पर्वत श्रेणी
सिमाना
पूर्व – दाङ र भारतीय सिमाना
पश्चिम – बर्दिया
उत्तरमा – दाङ र सल्यान
दक्षिण – भारतीय सिमाना