परिचय
वनले नेपालको कुल भुभागको ३९.६ प्रतिशत क्षेत्रफल ओगटेको छ (तेहौं योजना २०७०।०७१ देखि २०७२।०७३)। राष्ट्रिय जनगणना २०६८ अनुसार खाना पकाउनको लागि ६४ प्रतिशत मानिसहरुले काठ दाउराको प्रयोग गर्ने गरेको देखिएको छ । ग्रामिण समुदायमा बसोबास गर्ने समुदायको दैनिक जीवनयापनको लागि नभई नहुने घाँस–दाउरा–काठ, जडिवुटी, अन्य गैरकाष्ठ वन पैदावारहरु वन क्षेत्रबाट उपलब्ध हुदै आएको छ । वनले पर्यावरण सन्तुलनको लागि विभिन्न किसिमको वातावरणिय सेवाहरु उपलब्ध गराउदै आएको छ । बोट विरुवाहरु कै कारणले गर्दा जमिनमा भएको पानीको श्रोतको नविकरण हुने, विरुवाको जराले माटोहरुलाई समाती भु—क्षय हुन नदिने, बायुमण्डलमा जलवायु परिवर्तनको मुख्य कारक हरित गृह ग्याँसलाई नियन्त्रण गर्ने जस्ता अप्रत्यक्ष लाभहरु प्राप्त हुने गरेको छ ।
तर, नेपालमा जनसंख्याको बद्धि तथा तराई क्षेत्रमा औलो उन्मुलन भएसँगै भएको बसाई सराईले गर्दा वन क्षेत्रमा प्रत्यक्ष रुपमा चाप पर्न गयो । आवास तथा कृषिको लागि जग्गाको माग भएसँगै कतिपय अवस्थामा सरकार आफैले व्यवस्थित बसोवासको लागि वन फडानी गरी वस्ती बसायो भने कति पय स्थानहरुमा अतिक्रमण, चोरी निकाशी जस्ता कारणले गर्दा पनि वनको क्षेत्रफल घटदै गएको देखिन्छ । वन अनुसन्धान तथा सर्भे विभागद्धारा नेपालको वन श्रोतको अध्ययन अनुसार सन् १९९१ देखि सन् २०१० सम्ममा तराईको वन क्षेत्र औसत ०.४०% को दरले घटदै गएको देखिन्छ ।
वन क्षेत्रको विनाशले गर्दा वातावरणमा परेको असरहरु सम्वोधन गर्न र वन विकास तथा व्यवस्थापनको माध्यमबाट स्थानीय जनताको जीविकोपार्जनमा सुधार ल्याउन वन तथा भू—संरक्षण मन्त्रालयले “सम्वृद्धिको लागि वन” भने सोचका साथ वन विकासका विभिन्न कार्यक्रम तथा क्रियाकलापहरु संचालन गर्दे आएको छ । यसबाट स्थानीय जनताको जीविकोपार्जन सुधार हुनको साथै वन क्षेत्रको पनि संरक्षण र विकास हुने अपेक्षा गरिएको छ ।
के हो निजी कृषि वन ?
कृषि वाली (अन्न, फलफुल, माछापालन, पशुपालन) र वन वाली (रुख प्रजाती) एउटै जमिनमा सँगसँगै लगाई समयको अन्तरालमा दुवै वाली उत्पादन गरिन्छ भने त्यस्तो वाली प्रणालीलाई कृषि वन भनिन्छ । एउटै जमिनबाट एकै समयमा रुख प्रजाती र अन्न प्रजातीको बाली लगाई फाईदा लिन सक्नु नै कृषि वनको मुख्य विशेषता हो । यदि यस्तो कृषि वन प्रणाली आफ्नो हक भोगको निजी जग्गामा अपनाईन्छ भने त्यस्तो वाली प्रणाली नै निजी कृषि वन हो ।
यहाँ सँगै देखिएको तस्वीरमा रुख प्रजातीको विरुवा र कृषि वालीसँगै लगाएको देखिन्छ । यस तस्वीरमा मसला जातका रुखहरु बृक्षारोपण गरी ती विरुवाहरु विचको खाली जग्गामा धान लगाईएको देखिन्छ ।
निजी जग्गामा कृषि वन किन लगाउने ?
यस पृथ्वीमा जनसख्या वर्षेनी वढदो अवस्था छ । वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या बार्षिक रुपमा १.३५ प्रतिशतले वढिरहेको देखिन्छ । जनसंख्या वढेसँगै भुमि भने वढन सक्ने अवस्था छैन र बाढि, पहिरो, खडेरी, मरुभुमिकरण जस्ता कारणले गर्दा उत्पादनशिल भुमि क्षेत्रफल भने घटदो क्रममा रहेको छ । यसैले बढदो जनसंख्यालाई बासको लागि काठ, दाउरा, उनीहरुको चौपायाको लागि घाँस, पत्कर एवं मानिसको लागि खाना आपुर्ति गर्नको लागि विद्यमान जमिनको बहुआयमिक प्रयोग गर्नु पर्ने देखिन्छ । यसैले सिमित जमिनबाट वन तथा कृषिवालीको उत्पादनमा विविधिकरण गर्नु नै कृषि वनको मुख्य उद्देश्य हो ।
क) एउटै जमिनको खण्डबाट एउटै समयमा वन वाली र कृषि वालीको उत्पादन भई जग्गाको अधिकतम सदुपयोग गर्न ।
ख) घरकालागि आवश्यक पर्ने काठ, दाउरा, फलफुल र गैर काष्ठ वन पैदावारहरु तथा पशुपालनको लागि आवश्यक पर्ने घाँस, पत्कर तथा सोत्तरको आपुर्ति गर्न ।
ग) रुख प्रजातीका विरुवाहरुको जराबाट भू–क्षय नियन्त्रण गर्न सहयोग पुग्ने तथा जरामा हुने व्याक्टेरियाले वायुमण्डलमा भएको नाईट्रोजनलाई माटोमा मिलाउने भएकोले जमिनको उर्वराशक्ति कायम राखि राख्न सहयोग गर्ने ।
घ) रुख प्रजातीबाट कृषि वालीलाई प्रचण्ड घाममा छहारी, हावा हुरीबाट अन्नवालीमा हुन सक्ने हानी रोक्न सकिने ।
ङ) पशुपालनको माध्यमबाट खेती कार्यको लागि कम्पोष्ट मल प्राप्त हुने ।
च) जमिनको अधिकतम सदुपयोग भई जीविकोपार्जनमा समेत टेवा पुग्ने ।
कस्तो कस्तो ढाँचाको कृषि वन लगाउन सकिन्छ ?
हामीले जानेर वा नजानेर सदियौं देखि विभिन्न ढाँचाहरुमा कृषि वन प्रणालीको अभ्यास गरिराखेका छौं । भौगोलिक अवस्था, जमिनको उपलब्धता एवं किसानको आवश्यकता र चाहना अनुसार विभिन्न किसिमको ढाँचामा कृषि वन लगाउन सकिन्छ । नेपालमा हाल प्रचलनमा रहेको कृषि वनको ढाँचा निम्न बमोजिम रहेको छ ।
क) करेसा वारी ः
करेसावारी मध्य पहाड तथा तराई क्षेत्रमा लोकप्रिय कृषि वन प्रणालीको एक ढाँचा हो । यस ढाँचामा घर नजिकको सानो जमिनमा तरकारी, फलफुल तथा छहारीको लागि केही रुखहरु लगाउने गरिन्छ । करेसावारीबाट हामीले ताजा तरकारी, फलफुल, डालेघाँस, छहारी आदि प्राप्त गर्न सकिन्छ ।
ख) रुख र कृषि वाली मिसिएको ढाँचा ः
धेरै प्रचलनमा भएको यस प्रणालीमा खेत तथा वारीका ग¥हाहरुमा रुख तथा डालेघाँस प्रजातीका विरुवाहरु लगाउने गरिन्छ । यसबाट अन्नवालीको अतिरिक्त रुख प्रजातीबाट काठ, दाउरा, डालेघाँस प्राप्त गर्न सकिन्छ ।
ग) रुख र घाँस प्रजाती मिसिएको ढाँचा ः
यस प्रणालीमा रुख प्रजातीसँगै भुईघाँसको प्रजातीहरु मिसाएर लगाउने गरिन्छ । यस ढाँचाको कृषि वन प्रणालीबाट काठ, दाउरा सँगै घाँस पनि उत्पादन गर्न सकिन्छ । यसे ढाँचा व्यावसायिक रुपमा पशुपालन गर्नेहरुको लागि उपयुक्त हुन सक्दछ ।
घ) रुख प्रजाती र माछापालनको ढाचा ः
यस प्रणालीमा माछापालनको लागि बनाईएको पोखरीको वरीपरि रुख प्रजाती वा डालेघाँस प्रजातीको विरुवाहरु लगाउने गरिन्छ । यसबाट पोखरीको डिल संरक्षण हुन जान्छ भने अर्काे तिर माछासँगै काठ दाउरा पनि उत्पादन गर्न सकिन्छ ।
निजी कृषि वन संचालनको लागि डिभिजन वन कार्यालय, बाँकेको अनुरोध
डिभिजन वन कार्यालय, बाँकेले निजी कृषि वन संचालनको लागि विभिन्न प्रजातीहरुको विरुवा तथा आवश्यक प्राविधिक सहयोग निशुल्क रुपमा उपलब्ध गराउदै आएको छ ।
क) निजी वन दर्ता ः
निजी वन दर्ताको लागि आफुले लगाएको विरुवाको जात र संख्या, जग्गाधनी प्रमाण पुर्जा, हाल सालै तिरो तिरेको रसिद, नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी समावेश गरी रु १०।— टिकट टाँसी डिभिजन वन कार्यालय, बाँकेमा निवेदन दिन सकिन्छ ।
ख) विरुवा वितरण ः
यस कार्यालय अन्र्तगतका नर्सरीबाट विभिन्न जातको विरुवा निशुल्क रुपमा उपलब्ध गराईन्छ ।
ग) निजी कृषि वन सम्वन्धि प्राविधिक सहयोग ः
कृषि वन संचालनको प्राविधिक सहयोग चाहिएमा डिभिजन वन कार्यालय वा मातहतका निम्न कार्यालयमा गई आवश्यक परामर्श र प्राविधिक सहयोग निशुल्क लिन सकिन्छ ।
सिक्टा सव डिभिजन वन कार्यालय
राप्ती सव डिभिजन वन कार्यालय
नेपालगन्ज सव डिभिजन वन कार्यालय
नरैनापुर सव डिभिजन वन कार्यालय
कोहलपुर सव डिभिजन वन कार्यालय
शमशेरगन्ज सव डिभिजन वन कार्यालय